श्रीलंकामा आज राष्ट्रपति निर्वाचन, ३ जना उम्मेदवार

जनसम्मत
श्रावण ४, २०७९, बुधबार

श्रीलंकाको संसदले आज (बुधबार) जुलाई २० तारिकका दिन नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ।

राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि संसदमा मतदान हुन लागेको हो।

राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ। श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन्।

अभूतपूर्व आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षेलाई सेनाले उद्धार गरेर अज्ञात स्थल लगेको थियो। उनी माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए। सिंगापुर सरकारले राजापाक्षेलाई शरण नदिएको बरु उनी निजी भ्रमणका क्रममा त्यहाँ आएको बताएका छन्।

निर्वाचनका लागि ३ जना उम्मेदवार छन्। कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघे, जनता विमुक्ति पेरामुना पार्टीका अध्यक्ष अनुरा कुमारा दिशानायका र श्रीलंका पोदुजना पेरामुना पार्टीका सांसद दुल्लास अल्लाहपेरुमाले राष्ट्रपति पदका उम्मेदवारहरु हुन्।

श्रीलंकाली संसदमा मंगलवार राष्ट्रपति पदका लागि मनोनयनको आह्वान गरिएको थियो। ३ प्रतिस्पर्धीलाई उनीहरूका दलले प्रस्ताव तथा समर्थन गरेका हुन्।