नवलपुर (पूर्व) मा मतदाता नामावली दर्ता गर्नेको संख्यामा बृद्धि

जनसम्मत
श्रावण ४, २०७९, बुधबार

जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको संख्या बढेको छ।

कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको संख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय नवलपरासी (पूर्व) का अनुसार असारमा मात्रै जिल्लामा ५ हजार २२२ नयाँ मतदाता थपिएका छन्। यस अवधिमा २ हजार ६५८ महिला र २ हजार ५६४ पुरुष मतदाता थपिएका छन्। यसै अवधिमा ५८७ जनाको ठाउँसारी र ७४ जनाको सच्चाउने गरी ६६१ जनाको मतदाता नामावली अध्यावधिक गरिएको छ।

स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सरकारले गत असार १ गतेदेखि सुरु गरेको थियो।

सुरुका दिनमा सेवाग्राही खासै नआएपनि पछिल्ला केही दिनदेखि कार्यालयमा उल्लेख्य मात्रामा नयाँ मतदाता नामावली दर्ताका लागि सेवाग्राही आउने गरेको कार्यालयले बताएको छ।