साहित्यकार कुलप्रसाद खनालको निधन

जनसम्मत
श्रावण ४, २०७९, बुधबार

साहित्यकार कुलप्रसाद खनालको ८० वर्षमा निधन भएको छ।

गण्डकी साहित्य संगमका संस्थापक अध्यक्ष समेत रहेका खनालको काठमाण्डौं सिनामंगलस्थित काठमाण्डौं मेडिकल कलेजमा आज (बुधबार) बिहान निधन भएको हो।

काठमाण्डौं मेडिकल कलेजको आइसीयु कक्षमा उपचारको क्रममा खनालको निधन भएको हो।

स्व. खनाललाई १२ दिनअघि मेडिकल कलेजमा भर्ना गरिएको धर्मपत्नी लक्ष्मी खनालले जनसम्मतलाई जानकारी दिइन्।

परिवार श्रोतका अनुसार स्व. खनाल विगत ७ वर्षदेखि दमको रोगबाट ग्रसित थिए। विगत ६ महिनादेखि खनाललाई लगातार अक्सिजन दिएर राखिएको परिवार श्रोतले बताएको छ। पछिल्लो समय खनाल निमोनियाबाट समेत ग्रसित भएको परिवार श्रोतले बताएको छ।

पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख समेत रहेका खनालले विशेषगरी प्रगतिशील साहित्यिक धारमा निवन्ध, कथा र समालोचना विधामा कलम चलाउँदै आएका थिए।

स्व. खनालका पाँच लाखको चिट्ठा निबन्ध संग्रह (२०२९), चिन्तनका पाइलाहरू समालोचना (२०४८), सडक र संस्कृती निबन्ध (२०५५), दृष्टीका आयाम समालोचना (२०६४) आफू हरायो देश निबन्ध संग्रह (२०६६) लगायतका कृतिहरु प्रकाशित छन्।

स्व. खनाल प्रगतिशील लेखक संघ (प्रलेस) गण्डकीका पूर्व अध्यक्ष समेत हुन्।

खनालको आजै (बुधबार) पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ।

विक्रम संवत् २००० असार २५ गते तनहुँको सिम्पानीमा स्व. खनालको जन्म भएको थियो।

स्व. खनालको १ धर्मपत्नी लक्ष्मी खनाल, १ छोरा प्रकाश खनाल, ३ छोरीहरु शुभा पौडेल, सुमन पहारी र सुनिता झा छन्।