भीम रावलले रोस्टम छाडेनन्, संसद् स्थगित भयो

जनसम्मत
श्रावण ४, २०७९, बुधबार

सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यस सम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले रोस्टम नछोडेपछि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुपरेको छ।

प्रतिनिधि सभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाँण र परराष्ट्र मन्त्री नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको बताउँदै सांसद रावलले सदन मार्फत सरकारलाई रुलिङ गर्न माग गरे।

मन्त्रिपरिषद्ले एसपीपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदन मार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे।

सभामुखको आसनमा रहेकी सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आसन ग्रहण गर्न आग्रह गरेपनि सांसदले एसपीपीमा सहभागी नहुने पत्र पठाई सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै सांसद रावल रोस्टममै उभिए।

बैठकमा ग्लोबल ग्रीनग्रोथ इन्स्टिच्यूटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो। प्रस्तावमा सांसदहरू शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए।

प्रस्तावमा धारणा राख्न रोस्टममा पुगेका सांसद रावलले एसपीपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग जारी राखे। रावलले सरकारलाई सहयोग गर्न नै यस्तो माग राखेको बताए।

सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै आसन ग्रहण गर्न आग्रह गरे। पटक–पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगन गरेका थिए।