इजरायली श्रमिकका लागि आयो भिसा

जनसम्मत
श्रावण ५, २०७९, बिहीवार

इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका थप १ सय जनाको भिसा आएको छ।

यसअघि, इजरायलको परराष्ट्र मन्त्रालयमा कार्यरत ट्रेड युनियनले आन्दोलनका कारण रोकिएको थियो।

वैदेशिक रोजगार विभागले सूचनामार्फत १ सय जनाको रोस्टममा परेकालाई कोभिड १९ विरुद्धको खोप लगाएर ६ महिना नकटेको कार्डसहित व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा सम्पर्क गर्न आग्रह गरिएको छ।

साथै, रोस्टममा परेकाहरूको यही साउन ८ र ९ गते हवाई उडान हुने भएकाले सोहीअनुरूप तोकिएको एयरलाइन्समा गएर टिकट लिएर तयारी रहनसमेत आग्रह गरेको छ ।

इजरायल जान छनोट भएर पनि विगत छ महिनादेखि प्रतीक्षामा रहेकाहरू अबको एक महिनाभित्र गइसक्ने जनाइएको छ। छनोटमा परेर जान नपाएका ८ सय ७८ जनाको क्रमश: भिसा आउँदैछ।

अब जाने श्रमिकको पुन: स्वास्थ्य परीक्षण, पीसीआर र कोरोना खोप लगाउनु पर्नेछ। खोपको सम्बन्धमा भने यसअघि अतिरिक्त खोप लगाएको म्याद छ महिना नाघेका व्यक्तिले मात्र लगाउनु पर्नेछ । स्वास्थ्य परीक्षणमा हेपाटाइटिस, सिफिलिस, गोनोरिया, एचआईभी–एड्स, टीबीलगायतका रोगको पनि पुन: परीक्षण गर्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ।

यसैगरी राहदानीको म्याद तीन वर्षभन्दा कम भएको अवस्थामा आवेदन दिएको मिति अर्थात् ६ महिनाअघिसम्म ३ वर्षको भए मान्य हुने विषयमा इजरायल पक्षसँग सहमति भएको छ।