खेलकुद पत्रकार मञ्च गण्डकीलाई मिडिया सेन्टर संचालनको जिम्मा

जनसम्मत
श्रावण ६, २०७९, शुक्रबार

पोखरा रंगशालाभित्र रहेको मिडिया सेन्टर नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको छ।

एक समारोह बिच उक्त मिडिया सेन्टरको संचालन र व्यवस्थापनको लागि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको हो।

मिडिया सेन्टर व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा मिडिया सेन्टर हस्तान्तरण गरेका हुन्।

मिडिया सेन्टरको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी ग्रहण गर्दै मञ्चका अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित हुने गरी हस्तान्तरण भएको उक्त मिडिया सेन्टरका कम्पुटर, ल्याप्टप सहितका जिन्सी सामाग्रीको उचित संरक्षण गर्ने प्रतिबद्धता जनाए।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रिपोटिङ गर्न पूग्ने संचारकर्मीहरुका लागि मिडिया सेन्टर चुस्त दुरुस्त अवस्थामा राख्ने उनको भनाई थियो। मञ्चलाई मिडिया सेन्टर हस्तान्तरण गर्न सहयोग पुराउने राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ सहितका अन्य खेलकुदकर्मी तथा मञ्चका पूर्व अध्यक्ष समेत रहेका मिडिया सेन्टर व्यबस्थापन समितिका अध्यक्ष पाठकप्रति आभार व्यक्त गरे।

मिडिया सेन्टरमा रहेका जिन्सी सामाग्री चुस्त–दुरुस्त बनाउँदै पोखरा रंगशालामा कुनैपनि जिल्ला तथा प्रदेश, राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगिता हुँदा मिडिया सेन्टरको कार्यालय खुल्ला रहने मञ्चले जनाएको छ।

उक्त मिडिया सेन्टरमा ११ थान डेल ब्राण्डको कम्युटर, २ थान ल्यापटप, स्टिल दराज एक थान, १२ थान कम्पुटर टेवल, २ थान कार्यालय टेवल, एक सेट साउण्ड सिस्टम, ठुलो प्रिटर मेसिन एक थान, ६५ इन्चको एक थान टीभी, एक थान प्रोजेक्टर लगायतका संचार सामाग्री रहेको मञ्चका सचिव शशिकुमार पौडेलले जनाए।

मिडिया सेन्टर हस्तान्तरण समारोहमा क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख योगी, कार्यालयका नायब सुब्बा डीबी नेपाली, इञ्जिनीयर अनिल अधिकारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशिकुमार पौडेल, सदस्य सुर्दशन रन्जित, राजु गिरी, नारायण शाही, दीपक मुल्मी लगायतको सहभागिता रहेको मञ्चका महासचिव राजाराम पौडेलले बताए। मञ्चले गत असार १८ गते पोखरामा छेटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड सम्पन्न गरेको थियो। मञ्चले अब छिट्टै खेलकुद सम्बन्धी तालिम समेत आयोजना गर्ने भएको महासचिव पौडेलले जनाए।