दलाल पुँजीलाई पोषेर देशमा समाजवाद असंभव छ : नेपाल

जनसम्मत
श्रावण ७, २०७९, शनिबार

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोषेर देशमा समाजवाद आउन नसक्ने दाबी गरेका छन्।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई शनिवार सम्बोधन गर्दै नेपालले भने, ‘दलाल पुँजीलाई पोषेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रबद्र्धन संभव हुँदैन देशको राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ। यसलाई निमिट्यान्न पारेर अघि बढ्न आवश्यक छ।

अध्यक्ष नेपालले पुष्पलालबाट दिक्षित भएर नै नयाँ पार्टी खोलेको प्रष्ट पारे। उनले आफूले इतिहासका पानाहरु निर्माण गरेको र इतिहासमा नयाँ कीर्तिमान कायम गरेको उल्लेख गरे।

‘अहिले पनि हाम्रा सामु धेरै चुनौतीहरु छन्। तर डराउनुपर्ने अवस्था छैन। हामीले नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौँ। इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छौँ। कसैले असंभव ठानेका कुरालाई सम्भव तुल्याएर देखाएका छौँ। खास गरेर पुष्पलालबाट दिक्षित भएका हामीले नेकपा (एकीकृत समाजवादी) क्रान्तिकारी पार्टी खोलेका छौँ। जसले छुट्टै अस्तित्व देखाएको छ’ उनले भने, ’अस्तित्व भनेको आफ्नै क्रान्तिकारी चरित्रको आधारमा नै अरुभन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ, इमान्दार राजनीतिको निम्ति, समर्पित राजनीतिको निम्ति देश र जनाताको निम्ति हामीले अग्रसरता लिनुपर्ने आवश्यक्ता छ। हाम्रो राजनीतिको केन्द्रबिन्दु देश र जनता हुनेछ। राजनीतिमा विकृतिहरु, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ। भ्रष्ट प्रवृति देखिरहेको छ। दलाल पुँजीलाई पोषेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्शान पुर्‍याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रबर्द्धन हुने कुरा सम्भव छैन।’