पर्वतमा सरोकारवालाबीचको आपसी सहमतिमा नयाँ भाडादर

जनसम्मत
श्रावण ८, २०७९, आइतबार

पर्वत जिल्लामा संचालन हुने जीप तथा बसले यात्रुबाट मनलाग्दी भाडा असुल गरेको गुनासो आएपछि सरोकारवालाबीचको छलफलमा नयाँ भाडादर कायम गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा सरोकारवालाबीचको बैठकले नयाँ भाडादर कायम गरेको हो।

यात्रुलाई सवारी धनीले मनपरी भाडा लिएको गुनासो धेरै आएपछि सहमतिमा भाडादर कायम गरिएको हो। नयाँ कायम भएको भाडादर अनुसार पर्वत जिल्लाको कच्ची सडकमा यात्रा गर्ने यात्रुले जीपमा सवार गर्दा प्रतिकिलोमिटर ११ रुपैयाँ र बसमा सवार गर्ने यात्रुले प्रति किलोमिटर १० रुपैयाँ तोकिएको छ। त्यस्तै कालोपत्रे, ग्राभेल र पक्की सडकमा यात्रा गर्ने यात्रुले जीपमा ९ रुपैयाँ ५० पैसा र बसमा ९ रुपैयाँ तोकिएको छ।

यसअघि पर्वतका ग्रामीण क्षेत्रमा चल्ने जीपले प्रतिव्यक्ति प्रति किलोमिटर २७ रुपैयाँसम्म भाडा लिँदै आएका थिए। जिल्ला ट्राफिक कार्यालय पर्वतले प्रत्येक सडकमा चल्ने सवारी साधनले लिँदै आएको भाडा दर, सडकको दुरी र सडकको अवस्थाको मूल्यांकन गरी बैठकमा पेश गरेको थियो। हालको नियमानुसार जीपले ९ रुपैयाँ र बसले ८ रुपैयाँ लिने व्यवस्था रहेको थियो।

अटो रिक्साको सम्बन्धमा समेत कुश्मा बजारभित्र रुट कायम भएका जुनसुकै स्थानमा प्रतिव्यक्ति ५० रुपैयाँ र फलेवास नगरपालिकाको रुट कायम भएको क्षेत्रभित्र प्रतिकिलोमिटर १५ रुपैयाँ मात्रै लिन पाउने गरी निर्णय भएको छ। अब भने भाडादर समायोजन भएपछि गाउँदेखि बजार र बजारदेखि गाउँसम्म यात्रा गर्ने यात्रु मर्कामा नपर्ने भएका छन्।