नवौं राष्ट्रिय खेलकुद : कीर्तिमानीलाई ५० हजार पुरस्कार

नवौं राष्ट्रिय खेलकुदमा ७ प्रदेश, ३ विभागीय र गैर आवासीय नेपाली संघ (एनआरएनए) गरेर ११ टोलीको सहभागिता रहनेछ

जनसम्मत
श्रावण ८, २०७९, आइतबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ कीर्तिमान बनाउने खेलाडीलाई सरकारले छुट्टै ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदमा कीर्तिमान रच्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको नवौं राष्ट्रिय खेलकुद सचिवालय एवं राखेप प्रचार प्रसार शाखा प्रमुख फणिन्द्र पौड्यालले जानकारी दिएका छन्।

पौड्यालका अनुसार प्रतियोगितामा नयाँ कीर्तिमान बनाउने, स्वर्ण रच्ने खेलाडी र नवौंमा सहभागी खेलाडीले पाउने भत्ताको निर्णय भइसकेको छ। खेलाडीको पुरस्कार र भत्ताबारे राखेपको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृत दिइसकेको छ।

राखेपको निर्णय अनुसार नवौं राष्ट्रिय प्रतियोगितामा व्यक्तिगत स्वर्ण जित्नेलाई २५ हजार र समूहगत स्वर्ण जित्नेलाई १५ हजार रुपैयाँ प्रदान गर्नेछ। रजत र काँस्य विजेतालाई मेडल र प्रमाण पत्र प्रदान गर्नेछ।

यसैगरी, यस पटक नवौंमा सहभागी खेलाडीको दैनिक भत्तामासमेत वृद्धि गरिएको पौड्यालले जानकारी दिएका छन्।

‘नवौं खेलकुदमा सहभागी खेलाडीलाई दैनिक २ हजार रुपैयाँ भत्ता दिइनेछ। यस भत्ता सम्बन्धित खेलका खेलाडीले आफ्नो खेलको एक दिन अघि र एक दिन पछिसम्म पाउनेछन्। खेलाडीले खानपिन र बसोबासका लागि भत्ता पाउनेछन्,’ पौड्यालले भने।

यसअघि, आठौं प्रतियोगितामा खेलाडीलाई दैनिक १४ सय रुपियाँ भत्ता प्रदान गरिएको थियो। राखेपले टिम च्याम्पियन टोलीलाई १० लाख रुपियाँ बराबरको रनिङ ट्रफी प्रदान गर्ने जनाएको छ।

नवौं राष्ट्रिय खेलकुदमा ७ प्रदेश, ३ विभागीय र गैर आवासीय नेपाली संघ (एनआरएनए) गरेर ११ टोलीको सहभागिता रहने छ। जसमा करिब ७ हजार १ सय ९० खेलाडी, १२ सय प्रशिक्षक र १ हजार रेफ्री तथा निर्णायक रहनेछन्। असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं खेलकुदमा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ। संरचना अभावका कारण पौडी र सुटिङ खेल काठमाडौंमा संचालन हुनेछन्। राखेपले नारा, लोगो र मस्कट यसअघि नै सार्वजनिक गरिसकेको छ।