जरोटुप्पोमा डा. इन्दुलको आत्मालोचना

आफ्नो आँखामा आफै

जनसम्मत
श्रावण ८, २०७९, आइतबार

जरोेटुप्पो संरक्षण साहित्य समाज नेपालमा डा. इन्द्रुल केसी आत्मालोचनासहित प्रस्तुत भए।

आइतबार पोखरामा सम्पन्न आफ्नो आँखामा आफैँ डा. इन्दुल केसीको आत्मालोचना शीर्षक दिइएको कार्यक्रममा केसीले जीवनका विभिन्न उतार–रचढावका अनुभूति प्रस्तुत गरे।

कुनै समय पोखराको स्थानीय विकास अधिकारीको भूमिकामा रहेको स्मरण गर्दै केसीले आफ्नो सम्पत्ति विवरण शीर्षकको कविता सुनाएर आत्मालोचना शुरु गरेका थिए। कवितामा राजनीतिक नेतृत्वलाई कठोर व्यंग्य गर्दै आफ्नो सम्पत्ति आफ्नो सामान्य घर र परिवारमात्र रहेको उल्लेख थियो।

भूइँचालो कविताका सन्दर्भमा बोल्दै केसीले आफूले २०६५ सालमा भूइँचालो कृति प्रकाशन गरेको र २०७२ सालमा नेपालमा विनाशकारी भूइँचालो गएपछि धेरैले कविको दूरदर्शितालाई सराहना गरे तापनि आफू साहित्यको सामान्य विद्यार्थी मात्र रहेको बताए।

८१ वर्षको वय पार गर्दै गरेका डा. केसीको उर्जा साच्चै सराहनीय लाग्थ्यो। नयाँ पुस्तालाई अभिप्रेरित गर्ने उनको हिडाइ, लेखाइ, बोलाइलाई सबैले कदर गर्थे। उनको सानिध्यमा पोखरामा कार्यक्रम गर्न पाउँदा जरोटुप्पोले खुसी महसुस गरेको वक्ताले धारणा राखेका थिए।

नेपाली विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपानेले विभागमा यसरी स्रष्टाहरुलाई ल्याएर कार्यक्रम संचालन गर्न पाउँदा गर्वबोध भएको बताए। इमानका साथ आफ्नो काममा खटिदा शारीरिक रोग लाग्दैन भन्ने उनको कथन थियो।

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले डा. इन्दुल केसीको परिचय राख्दै उनलाई सरल, सिर्जनशील र विलक्षण प्रतिभाका रुपमा चिनाए। पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्रलाई नै हो पत्रकार भन्नु भन्ने मूल नारालाई आत्मसात गरेर डा. इन्दुल केसीलाई पनि संघमा पाउनु संघका लागि गौरव भएको धारणा राखे।

पोखरा वडा नं. १ का वडा सदस्य रामजीप्रसाद पौडेलले राजनीतिले देश आक्रान्त बनेको बेला साहित्यकार, शिक्षक र प्राध्यापकहरु आफ्नो कर्ममा इमान्दार हुन सके देशमा सुशासन आउने बताए। उनले राजनीति बाहिर देखे जस्तो र बोले जस्तो नभएकाले त्यसलाई व्यवहारमा देखाउन विभिन्न उल्झन पार गर्नुपर्ने र जिम्मेवारी बोध गर्नुपर्ने संपूर्ण जनप्रतिनिधिको पहिलो जिम्मेवारी हो भन्नेमा जोड दिएका थिए।

गीताञ्जली साहित्य परिवारका पूर्व अध्यक्ष शिवप्रसाद गौतमले साहित्यकारहरुको निकटता पाउँदा आफूलाई धेरै खुसी लाग्ने गरेको अभिव्यक्ति दिँदै पोखराको एउटा ब्राण्डका रुपमा जरोटुप्पो मौलाउँदै आएको बताए।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख यादवराज उपाध्याय, साहित्यकार तथा पत्रकारहरु विनोद अधिकारी, बद्री दुलाल, अभिमन्युविक्रम राणा, कृष्ण सारथी, निरु पोखरेल, महेशजंग कुँवर, उपेश नौवांग, खोज पत्रकार गणेशबज्र लामालगायतले आ–आफ्ना धारणा राखेका थिए।

सोेही समारोह बीच नेपाली विभाग पृथ्वीनारायण क्याम्पसका प्राध्यापक चूडामणि खनाल, पूर्व विभागीय प्रमुख कुलप्रसाद खनाल र कविवर तेजनाथ घिमिरेको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। दिवंगत ३ शिक्षासेवी र साहित्यसेवीको व्यक्तित्वबारे न्यौपानेले विशद् चर्चा गरेका थिए।

कार्यक्रममा कोषाध्यक्ष असफल गौतमले संस्थाका गतिविधिबारे प्रकाश पारेका थिए भने साहित्यकार सावित्री गिरीले तीजे गीत गाएकी थिइन्। संस्थाका कार्यवाहक अध्यक्ष प्राडा यामबहादुर पौडेल क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव मदन भण्डारीले गरेका थिए।