एउटै कृतिभित्र पोखराबारे लेखिएका कविताहरु

आउने पुस्तालाई हिजोको पोखरा देखाउने काममा महानगर : मेयर आचार्य

जनसम्मत
श्रावण १०, २०७९, मंगलवार

पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ ।

सो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् ।

२०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत रुप दिँदै आएका आचार्यले पुन: पोखरा सरुवा भएको अवसरमा काव्यरसमा पोखरा नाम दिएर उक्त कृवितासङ्ग्रहलाई आफ्नो जन्मदिन पारेर साउन ९ गते पोखरामा लोकार्पण गरेका हुन् ।

कार्यक्रमका विशेष अतिथित्रय पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्यसचिव तीर्थ श्रेष्ठले संयुक्त रुपमा कृतिको लोकार्पण गरे ।

महानगरप्रमुख धनराज आचार्यले न्याय क्षेत्रमा क्रियाशील व्यक्तिले पोखरालाई कर्म थलो बनाएको बेलामा गरिएको चिन्तन स्तुत्य र पोखराबारे लेखिएका सबै कविता एकै ठाउँमा पढ्ने अवसर मिलाएर ठूलो गुन लगाएको बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पोखराबारे लेखिएका कवितालाई यसरी लोकार्पण गर्न पाउँदा खुसी लागेको धारणा राख्दै पोखराले सबैलाई कवि बन्न प्रेरित गरेको उल्लेख गरे।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्यसचिव तीर्थ श्रेष्ठले आफूले ५० वर्षपछिको पोखरा मोदी, मादी र आँधीबीचको पोखरा हुने आँकलन गरेको बताए।

कृतिका स्रष्टा डिल्लीराज आचार्यले पोखराको साहित्य, कला र संगीतका माध्यमबाट उल्लेख्य आय–आर्जन गर्न सकिने भएकाले त्यतातर्फ पनि ध्यान दिन महानगरलाई सुझाए।

कृतिबारे पाठकीय टिप्पणी राख्दै डा जगन्नाथ रेग्मीले कृतिमा २०१० को दशकदेखि ७८ सालसम्मका अग्रज, अनुज र समकालीन कविका कविता रहेकाले ग्रन्थ सङ्ग्रहणीय रहेको बताए। एउटै कृतिमा पोखराबारे लेखिएका गद्य–पद्य दुवै संरचनाका रचनाले पाठकलाई कृति पठनीय बनाएको उनको धारणा थियो ।

कार्यक्रममा सगरमाथा आरोही अधिवक्ता विष्णु भुषाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास गण्डकी अध्यक्ष दुर्गा शाह ‘बाबा’, दाङ–पोखरा सम्पर्क समाजकी अध्यक्ष राधा केसीलगायतले बोलेका थिए।

कार्यक्रमका लागि असम गुवाहाटीकी नेपाली भाषी साहित्यकार नीता गुरुङकातर्फबाट प्राप्त सम्मान तथा शुभकामना सन्देशसमेत कार्यक्रममा सुनाइएको थियो भने दाङ पोखरा–सम्पर्क समाजले स्रष्टा डिल्लीराज आचार्यलाई जन्मदिनको शुभकामनासहित सम्मान गरेको थियो।

कार्यक्रमको सञ्चालन मावनअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले गरेका थिए।