ओपनर ब्याट्सम्यान आसिफको वरीयता सुधार

जनसम्मत
श्रावण ११, २०७९, बुधबार

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान आसिफ शेखको एकदिवसीयको ब्याटिङ वरीयता सुधार भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा आसिफको वरीयता २ स्थान सुधार भएको हो।

विकेटकिपर ब्याट्सम्यान आसिफ नयाँ वरीयताको ९८ औं स्थान उक्लिएका हुन्। यसअघि, उनी १०० औं स्थानमा थिए।

ब्याटिङतर्फ नेपालका रोहित पौडेल ८१ औं स्थानमा यथावत छन्। एकदिवसीयको बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ३४ औं स्थानमा यथावत छन्। बलिङमै सोमपाल कामी ९० औं र करण केसी ९२ औं स्थानमा झरेका छन् ।

टी–ट्वान्टी वरीयताको ब्याटिङतर्फ कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंह ऐरी ४१ औं स्थानमा यथावत छन्। आसिफ शेख पनि ९५ औं स्थानमा यथावत छन्।

टी–ट्वान्टीको बलिङतर्फ सन्दीप ३९ औं स्थानमा यथावत रहँदा अविनास बोहरा ८९ औं स्थानमा यथावत छन्। अलराउण्डरतर्फ दीपेन्द्रसिंह ऐरी ९ औं स्थानमा यथावत रहेका छन् ।