१० लाखको अक्षयकोष स्थापना गर्दै खेलकुद पत्रकार मञ्च गण्डकी

जनसम्मत
श्रावण ११, २०७९, बुधबार

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेलपत्रकारलाई समस्या पर्दा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्ने भएको छ।

मञ्चका अध्यक्ष दीननाथ बरालले आफ्नो जन्मदिनको अवसर पारेर यसको सुरुवात गरेंको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्।

अध्यक्ष बरालले जन्मदिनमा आफ्ना बाबु स्व.टेकनाथ बरालको नाममा १० हजार रुपैयाँ मञ्चको अक्षयकोषका लागि प्रदान गरेका हुन्।
अध्यक्ष बरालले मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल र सचिव शशीकुमार पौडेललाई हस्तान्तरण गरे।

अध्यक्ष बरालले जन्मदिनको अवसरमा पवित्र कार्यको सुरुवात गर्न पाएकोमा खुशी व्यक्त गरे। आफ्नो कार्यकालमा १० लाख बराबरको अक्षयकोष पुर्‍याएरै छाड्ने प्रतिबद्धता समेत बरालले जनाए। ‘मैले मेरो जन्मदिनको अवसर पारेर अक्षयकोषको सुरुवात गरे, अब मेरो कार्यकालमा अक्षयकोषमा १० लाख रुपैयाँ पुर्‍याउनेछु’ अध्यक्ष बरालले भने।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, कोषाध्यक्ष एवं प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्णप्रसाद दवाडी लगायतका पत्रकारको सहभागिता थियो।

अक्षयकोषबाट प्राप्त व्याजले खेल क्षेत्रमा कलम चलाईरहेका पत्रकारलाई अप्ठ्यारो पर्दा सहयोग गर्दै अभिभावकत्व प्रदान गर्ने पवित्र उद्देश्य रहकोले अक्षयकोषको लागि रकम सहयोग गर्न मञ्चले सबै खेलप्रेमीमा समेत आग्रह गरेको छ।