डागर स्मृति प्रतिष्ठानले ४ जनालाई सम्मान गर्‍यो

जनसम्मत
श्रावण ११, २०७९, बुधबार

डागर स्मृति प्रतिष्ठान नेपालले बुधवार एक समारोहका बीच ४ जना सामाजिक व्यक्तित्वलाई सम्मान गरेको छ।

प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकहरू विभिन्न उच्च ओहदा र तहमा आसिन हुन सफल भएको अवसरमा शुभकामनासहित प्रतिष्ठानले सम्मान अर्पण गरेको हो।

यसरी सम्मानित हुनेमा प्रतिष्ठानका अभिभावक डिष्ट्रिक ३२५ बी १ का पूर्व डिस्ट्रिक गभर्नर तथा महानगरप्रमुख धनराज आचार्यलगायत विशिष्ट समाजसेवीहरु छन् ।

प्रतिष्ठानका शुभेच्छुक राम बसेल समाजसेवीहरुको सर्वश्रेष्ठ संस्था लायन्स क्लब अफ इन्टरनेशनलको लायन वर्ष २०२२/२०२३ का लागि डिस्ट्रिक ३२५ ‘आई’को गभर्नरमा, ध्रुव श्रेष्ठ डिस्ट्रिक ३२५ ‘जे’को गभर्नरमा र राजेन्द्र बाटाजु डिस्ट्रिक ३२५ ‘के’को गभर्नरमा निर्वाचित भएको खुसीमा एकै साथ सम्मान गरेको हो।

प्रतिष्ठानका संस्थापक अध्यक्ष रमा पराशर, निवर्तमान अध्यक्ष हिरादेवी बास्तोला र वर्तमान अध्यक्ष बिन्दु श्रेष्ठले संयुक्तरुपमा दोसल्ला, माला, खादा, बुकीसहित सम्मान अर्पण गरेका हुन्।

संस्थाका संस्थापक अध्यक्ष रमा पराशरलाई सम्मानित तीनै जना डिस्ट्रिक गभर्नरले गभर्नर पिनबाट सम्मान गरेका थिए। प्रतिष्ठानका अभिभावक धनराज आचार्यकी जीवनसंगिनी पुष्पा आचार्य र तीनवटै डिस्ट्रिकका फस्ट लेडीलाई सो अवसरमा सम्मान गरिएको थियो।

सम्मानित व्यक्तित्व धु्रव श्रेष्ठ, राजेन्द्र बाटाजू, राम बसेल, संचारकर्मी दीपेन्द्र श्रेष्ठ, प्रतिष्ठानका उपाध्यक्ष सरिता तिम्सिना लगायतले प्रतिष्ठानबारे बोलेका थिए।

प्रतिष्ठानका अध्यक्ष बिन्दु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन प्रतिष्ठानका सहसचिव असफल गौतमले गरेका थिए।