साफ यु–२० च्याम्पियनसीप : नेपालको लगातार दोस्रो जित

जनसम्मत
श्रावण ११, २०७९, बुधबार

नेपालले साफ यु–२० च्याम्पियनसीप फुटबलमा लगातार दोस्रो जित निकालेको छ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगिताको दोस्रो खेलमा आज (बुधबार) नेपालले श्रीलंकालाई ३–० गोलले हरायो।

जितसँगै नेपालले फाइनल पुग्ने संभावना बलियो बनाएको छ। नेपालको जितमा कप्तान आयुष घलान, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले सबै गोल दोस्रो हाफमा गरेको थियो।

आयुषले ५८ औं मिनेटमा गोल गर्दै खाता खोले। क्रितिशरत्नले ६५औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए। मनग्यले ८४ औं मिनेटमा गोल गर्दै नेपाललाई सजिलै जिताए।

लगातार दोस्रो जितसँगै नेपालले ६ अंक बनाएको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको थियो। श्रीलंकालले लगातार दोस्रो हार खेपेको छ। पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० गोलले पराजित बनेको थियो। बुधबारनै भएको अर्को खेलमा बंगलादेशले भारतलाई २–१ गोलले पराजित गरेको छ।

नेपाल पहिलो पटक आयोजित यस च्याम्पियनसीपको उपाधि चुम्ने लक्ष्यका साथ भारत गएको छ। यसअघि, यु–१९ र यु–१८ उमेर समूहमा प्रतिस्पर्धा हुँदै आएको यस प्रतियोगिता पहिलो पटक यु–२० उमेर समूहको आयोजना गरिएको हो।

नेपालले अब तेस्रो खेल भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउन्ड रोबिन लिगका आधारमा खेलिने प्रतियोगिताको शीर्ष २ टोलीबीच अगस्ट ५ तारिख फाइनल प्रतिस्पर्धा हुनेछ।