युएईमा आदिवासी महोत्सव हुने

जनसम्मत
श्रावण १२, २०७९, बिहीवार

वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका आदिवासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा ‘आदिवासी महोत्सव–२०२२’ कार्यक्रम गर्ने भएको छ।

महोत्सव अगस्टको १४ तारिकका दिन दुबई शहरस्थित बरदुबईको क्लब एभरेष्टमा हुनेछ। नेपाली दूतावास अबुधावीका राजदूत कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यमा महोत्सव हुने बताइएको छ।

कार्यक्रममा आदिवासी जनजातिहरुको पुरातात्विक महत्व बोकेको भेषभूषा र कला सांस्कृतिक झाँकी प्रदर्शनका साथै आदिवासी युवाहरूको व्यक्तित्व विकासका लागि ‘मिस्टर र मिस इन्डिजेनस’ प्रतियोगिता राखिएको आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विजयलक्ष्मी राईले जानकारी दिए।

कार्यक्रममा प्रवासी कलाकारको समेत बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा नेपालको मौलिक संस्कृति झल्किने कला प्रदर्शनी र नेपाली समुदायको सेवामा खटिने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिनेछ।