टेलिकमले एसईई अफरसहितको नि:शुल्क सिम कार्ड उपलब्ध गराउँदै

जनसम्मत
श्रावण १२, २०७९, बिहीवार

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरूका लागि एसईई अफरसहितको नि:शुल्क सिम कार्ड उपलब्ध गराउँदैछ।

उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट नि:शुल्क उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ।

विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा अफरहरू उपलब्ध गराउने व्यवस्था गरिएको छ। नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, १ प्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ।

सिम लिइसकेपछि विद्यार्थी दर्ता प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्ने नेपाल टेलिकमले जनाएको छ।

उक्त प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिनेछ। यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टक टाइम र ३०० वटा एसएमएसको सुविधा तथा नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ।