सयपत्री हाइड्रोपावरले भोलीदेखि आईपीओ निष्कासन गर्दै

जनसम्मत
श्रावण १२, २०७९, बिहीवार

सयपत्री हाइड्रोपावर लिमिटेडले भोलि (शुक्रवार, साउन १३ गते)देखि आइपीओ निष्कासन गर्दैछ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो।

यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।

बाँकी ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।

साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ। हाल, कम्पनीको चुक्ता पूँजी २१ करोड रुपैयाँ छ। आइपीओ निष्कासन बाँडफाँटपश्चात् ३० करोड रुपैयाँ पुँजी पुग्नेछ ।

उक्त समयमा सबै शेयर विक्री नभएमा भने साउन २७ गतेसम्म खुला रहनेछ। आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

साथै, मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ। यो आइपीओको विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ।