सचेतक शान्ता चौधरीको संसदमा आक्रोस, ‘जनताको जीवन बदल्ने सपना देख्न पाउँदैनस्, खबरदार ! भनेर औंला उठाउँछ, मेरो देशको प्रतिपक्ष’

सरकारको आर्थिक वर्ष ०७६/०७७ नीति तथा कार्यक्रममाथि बहस

जनसम्मत
वैशाख २३, २०७६, सोमबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले सोमबार सरकारको आर्थिक वर्ष ०७६/०७७ नीति तथा कार्यक्रममाथि भाग लिदैं प्रतिपक्ष काँग्रेसमाथि आक्रोस पोखिन् ।

नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको सचेतक चौधरीको भनाई थियो ।

‘लोककल्याणकारी राज्य व्यवस्था स्थापनाका लागि योगदान पुर्याउने गरी नीति तथा कार्यक्रम ल्याइएको छ,’ चौधरीले थपिन्, ‘समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा हो । जुन आकांक्षा पूरा हुने संकेत देखिएको छ । तसर्थ, म नेपाल सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिपक्षहरुले प्रतिपक्षी पूर्वाग्रही भावनाले टिका टिप्पणी गरेको सचेतक चौधरीको प्रतिक्रिया थियो ।

नीति तथा कार्यक्रममाथि बहस गर्दै गर्दा हिजो मैले धेरै माननीय ज्यूहरूको सुझाव सुनें, भनाइहरु सुनें । कतिपय तर्क अनि दलील सुन्दै गर्दा कठै मेरो देशको प्रतिपक्ष मानसिकता भन्न मन लाग्यो र दया पनि लाग्यो,’ उनले अगाडि भनिन्, ‘किनकी जनताको जीवन बदल्ने सपना देख्न पाउँदैनस, खबरदार ! भनेर औंला उठाउँछ मेरो देशको प्रतिपक्ष । यो देशमा बहुदल आएपछि सबैभन्दा धेरै सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेस हामीले देख्यौं, सत्ता संञ्चालनका सीप, नेतृत्वकला र नेतृत्व क्षमता । जसले भ्रष्टाचारको जन्म दिने महान काम ग¥यो । हुर्कायो मात्रै होइन, संस्थागत नै गरिदियो । त्यसैबेला मौलायो दलाल पुँजीवाद ।’

बालुवाटार खाने काँग्रेस कि केपी ओली ?

सचेतक चौधरीले बालुवाटार खाने कांग्रेस हो कि केपी ओली भन्दै प्रश्न गरेकी छिन् । चौधरीले अहिलेको सरकारले विवादित जग्गा रोकेको र छानबिन थालेर राम्रो शुरुवात गरेको बताइन् । चौधरीले केपी ओली नेतृत्वको सरकारको प्रशंसा गरिन् ।

‘थुप्रै भू–माफियाहरू, विचौलियाहरूलाई सरकारी जग्गा निर्णय नै गरेर सुम्पियो । अहिले सबैभन्दा बढी चर्चाको विषय बनेको ललिता निवास परिसरको ११३ रोपनी जग्गा जुन २०४७ र ४९ सालको मन्त्री परिषदको निर्णयबाट सुवर्ण शमसेरको परिवारलाई सुम्पिने काम ग¥यो । अनि त्यही जग्गा अहिलेको सरकारले छानबिन गर्ने, रोक्का र फिर्ता गराउने निर्णय ग¥यो । अब, भन्नुहोस, बालुवाटार खाने नेपाली कांग्रेस कि केपी नेतृत्वको सरकार ?’ चौधरीले प्रश्न गरिन्, ‘यो विषय उठाउँदा अलिकति हेक्का भएन विगतका आफ्ना कमजोरीहरु ?’

दलाल नोकर शाहीहरूलाई पूर्ण रुपले निस्तेज गर, सरकार !

देश लुट्न आँखा चम्काउने र हात लम्काउने देशका दलाल र नोकर शाहीहरुलाई पूर्ण रुपले निस्तेज गर्न सरकार समक्ष सचेतक चौधरीले आग्रह गरिन् । उनले समृद्धि संभव रहेको उल्लेख गरिन् ।

‘सरकार युवाहरुलाई रोजगारी सृजना गर्ने कार्यक्रम ल्याउँछ, प्रतिपक्ष हावादारी देख्छ,’ चौधरीले प्रश्न गरिन्, ‘हामीलाई थाहा छ, रोदन केका निम्ति ? यो रोदन आगामी निर्वाचनको परिणाम पनि आफ्नो फेभरमा नहुने भयो भन्ने चिन्ताका लागि ? प्रतिपक्षका साथीहरुको यो अभिष्ट पूरा गर्नका लागि जनाताको सपनामाथि खेलवाड गर्न सक्दैन सरकार । हुँदैन र पाइदैन पनि । कांग्रेसले परनिर्भर बनाएको देश अहिलेको सरकारले आत्मनिर्भर बनाओस । विगतदेखि नै देश लुट्न आँखा चम्काउने र हात लम्काउने देशका दलाल र नोकर शाहीहरूलाई पूर्ण रुपले निस्तेज गर सरकार ! सचेतक शान्ता चौधरीको संसदमा आक्रोस पोखिन, ‘जनताको जीवन बदल्ने सपना देख्न पाउँदैनस्, खबरदार ! भनेर औंला उठाउँछ, मेरो देशको प्रतिपक्ष ।’

मेरो भन्ने शब्दसँग किन उत्पात मच्चाइयो ?

सचेतक चौधरीले देशको सर्वोच्च संस्थामाथि पटकपटक धावा बोल्ने काम गरिएको उल्लेख गरिन् । नेपाली सेनाको हेलिकप्टर चढेर कुनै कार्यक्रममा जाँदा सम्माननीय राष्ट्रपतिलाई यति अरब र उति अरबको हेलिकप्टर चढ्ने भनेर आरोपित गरेकोमा चौधरीले विरोध जनाइन् ।

‘राष्ट्रपति कार्यक्रममा जाँदा केमा जाने ?’ उनको प्रश्न थियो, ‘पहिलो टेम्पो चढेर कार्यक्रम चढेर जानुभयो या गोरु गाडा ? मेरो प्रश्न छ । अन्तराष्ट्रिय अभ्यास र प्रोटोकलको पनि सवाल हो । राष्ट्रपतिले मेरो सरकार भन्नुभयो । आँखा चिम्लिएर विरोध गरियो र हुर्मत नै लिइयो । हामी पनि सगर्व भन्ने गर्छौ, मेरो देश, मेरो पार्टी, मेरो भन्ने शब्दसँग उत्पात मच्चाउन कुनै जरुरी नै थिएन ।’