सयपत्री हाइड्रोको आइपीओ आजबाट बिक्री खुला

जनसम्मत
श्रावण १३, २०७९, शुक्रबार

सयपत्री हाइड्रोपावर लिमिटेडले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्कासन गरेको छ।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गरेको हो।

यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन्।
आइपीओमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ। यस समयमा माग बमोजिम आवेदन नपरेमा साउन २७ गतेसम्म थप हुनेछ ।

आइपीओ प्रबन्धकमा एनआइबीएल एस क्यापिटलसँगै सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। साथै, मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

आइपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। हाल कम्पनीको चुक्ता पूँजी २१ करोड छ।

आइपीओ निष्कासन बाँडफाँटपश्चात् पुँजी ३० करोड पुग्नेछ। कम्पनीले बाग्लुङ जिल्लामा २ दशमलव ५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।