इजरायलका लागि थप १६९ जना गए

जनसम्मत
श्रावण १३, २०७९, शुक्रबार

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी श्रमिकका रूपमा काम गर्न थप १६९ जना प्रस्थान गरेका छन्।

आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारी रोकिएको ६ महिनापछि १६९ नेपाली इजरायल प्रस्थान गरेका हुुन्।

इजरायलमा देखिएको श्रम विवादको कूटनीतिक पहलपछि यो संख्यासहित इजरायल प्रवेश गर्ने नेपाली संख्या ४५५ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ।

इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जाने प्रक्रिया सुरु भएको हो।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी श्रमिकका रूपमा कार्य गर्न छनोट भएका १ हजार १७५ जना श्रमिकमध्ये करार सम्झौता (एसईसी) सम्पन्न भई २९७ जना श्रमिक भने यसअघि नै इजरायल प्रस्थान गरिसकेका छन् भने यही साउन ८ र ९ मा थप १६९ श्रमिकको उडान भएको हो।

नेपालस्थित इजरायली दूतावासले इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्व कर्मचारीको श्रम विवादका कारण छनोट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली सहयोगी श्रमिकको भिसा जारी गर्ने कार्यमा सहजीकरण गरेपछि प्रवेश खुला भएको हो।

विभागले बाँकी रहेका सबै युवालाई यही महिनाभित्र पठाउने तयारीसहित काम अगाडि बढाएको जनाएको छ। इजरायल पक्षले छनोट भएका श्रमिकलाई चाँडोभन्दा चाँडो पठाउन अनुरोध गरेपछि नेपालले गर्नुपर्ने थप प्रक्रियाको तयारी गरिरहेको छ।

छनोट भएका १ हजार १७५ जनामध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो। यसरी प्रकाशित गरेका नाममध्ये ९५९ को रोजगार सम्झौता र ४५५ इजरायल प्रवेश गरिसकेका छन्। विभागका अनुसार इजरायल जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइनेछ।