नेपाल बैंक र एनसेलबीच सम्झौता

जनसम्मत
श्रावण १३, २०७९, शुक्रबार

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटाले नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्नेसम्बन्धी सम्झौता गरेको छ।

एक समारोहमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङले उक्त सम्झौतामा हस्ताक्षर गरे।

सम्झौता अनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहरुलाई एनसेलको सिम प्रयोग गरि नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा नि:शुल्क उपलब्ध हुनेछ। नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यसअघि नै यो सुविधा प्रदान गरिसकेको छ।

अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्कमार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन। डिजिटल बैकिङलाई प्रवद्र्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले एनसेलसँग सहकार्य गरी नेपाल बैंकका ग्राहकलाई बैंकको मोवाइल बैकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था भएकोमा खुशी व्यक्त गरे। आगामी दिनहरुमा एनसेल एक्सीयाटासँगको सम्बन्ध थप मजबुत हुने विश्वास पनि लिएको उनको भनाई थियो।

नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याईरहेको नेपाल बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।