गण्डकी प्रदेशको पर्यटनसम्बन्धी विधेयक पारित

जनसम्मत
श्रावण १४, २०७९, शनिबार

गण्डकी प्रदेशसभाको बैठकले गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ।

बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए।

यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य राजीव पहारी, मनकुमारी गुरुङ र गायत्री गुरुङले भाग लिए।

विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य राजीव पहारीले गण्डकी प्रदेश आफैँमा पर्यटकीयस्थल भएको बताए। पहारीले प्रकृति, संस्कृति एवं साहसिक पर्यटनका दृष्टिले यो प्रदेश महत्वपूर्ण रहेको बताए। प्रदेशको समृद्धिका लागि पर्यटन महत्वपूर्ण रहेको उनको भनाई थियो। उनले विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे। बाह्य पर्यटक मात्र नभई आन्तरिक पर्यटक कसरी बढाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए।

अर्का सदस्य मनकुमारी गुरुङले विधेयक महत्वपूर्ण भएको बताउँदै गण्डकी र पर्यटन एक अर्काका परिपूरक भएको उल्लेख गरिन्।

प्रकृतिप्रदत्त धेरै सम्पदा गण्डकी प्रदेशमा रहेको उनको भनाई थियो। उनले विधेयक अझै चाँडो आउनुपर्ने औंल्याइन्। प्रदेशको समृद्धिका लागि विधेयक महत्वपूर्ण बन्ने उनको भनाई थियो। प्रदेशसभा सदस्य गायत्री गुरुङले सरकारले मिहिनेतका साथ विधेयक ल्याएको बताइन्। समृद्ध प्रदेश बनाउने आधार पर्यटन हो भनिए पनि सुरुमै आउनुपर्ने विधेयक ढिला भएको उनको भनाई थियो।

विधेयकमाथिको प्रश्नको जवाफ दिँदै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधेयक सरोकारवालासँग पटक–पटक छलफल गरी ल्याइएको बताए। प्रदेशका जनतालाई सुखी र समृद्ध बनाउनका लागि पर्यटनलाई प्राथमिकतामा राखिएको उनले बताए।