बागलुङ कारागारमा पुस्तकालय स्थापना

जनसम्मत
श्रावण १४, २०७९, शनिबार

जिल्ला कारागार बागलुङमा पुस्तकालय स्थापना गरिएको छ।

अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा ‘कारागारमा पुस्तकालय’ स्थापना गरिएको हो। सो पुस्तकालयको गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उद्घाटन गरे ।

उनले कैदीबन्दीको ज्ञान, सीपको विकास र मानसिकता स्वस्थ तथा परिवर्तनका लागि पुस्तकालय उपयोगी हुने विश्वास व्यक्त गरे ।

राज्यले कैदीबन्दीलाई दिनुपर्ने सुविधा सामाजिक संघसंस्थाले उपलब्ध गराएकोमा खुसी व्यक्त गरे। उनले क्षणिक आवेग, क्रोध वा परिस्थितिजन्य घटनाले जेलजीवन बिताएका नागरिकको मनोवृत्तिमा सुधार जरुरी रहेको बताए।

जेलपछिको बाँकी जीवन सम्मानित बनाउन पुस्तकहरू उपयोगी हुने मन्त्री कँडेलको भनाइ थियो। जिल्ला कारागारमा हाल क्षमताभन्दा बढी कैदीबन्दी छन्। पुरुष ५० जनाको क्षमता रहेको कारागारमा १६२ पुरुष, नौ जना महिला र दुई जना नाबालक छन्।

महिला शाखामा क्षमताअनुरूप नै कैदी बन्दी भएपनि पुरुष शाखामा ३ गुणा बढी कैदीबन्दी छन्। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खाना, बस्न, सुत्न तथा अन्य व्यवस्थापनको समस्या भएको कारागार प्रमुख डिलबहादुर केसी बताउँछन्।

सो कारागारको मुख्य समस्याबारे जानकारी भएको उल्लेख गर्दै मन्त्री कँडेलले मन्त्रिपरिषद् बैठकमा समाधानबारे छलफल गर्ने बताए। पुस्तकालयको फर्निचर तयार तथा पुस्तक खरिदमा करिब ३ लाख ८५ हजार रुपियाँ खर्च भएको अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष एकराज गिरीले बताए।

कैदीबन्दीको मानसिकता परिवर्तन गरी सामाजिकीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले पुस्तकालय स्थापना गरेको उनले स्पष्ट पारे।

पुस्तकालयमा जीवन संघर्ष, साहित्य, जेलजीवन, राजनीतिक विचार, सिद्धान्त, व्यावसायिक सीप, उत्प्रेरणा, सकारात्मक सोचसम्बन्धी विविध विषयमा लेखिएका ६५८ थान पुस्तक राखिएका छन्।