साफ यु–२० च्याम्पियनसीप : नेपाललाई उछिन्दै बंगलादेश शीर्षस्थानमा

जनसम्मत
श्रावण १४, २०७९, शनिबार

साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपाललाई उछिन्दै बङ्लादेश अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

हिँजो (शुक्रबार) भएको दोस्रो खेलमा बङ्लादेशले माल्दिभ्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो। भारतको भुवनेश्वरमा रहेको कालीङ्गा रंगशालामा बंगलादेशले पहिलो हाफमा नै ४ गोल गरेको थियो।

योसँगै बंगलादेशले लगातार तेस्रो जित निकालेको छ। ३ खेलमा ९ अंककासाथ बंगलादेश शीर्ष स्थानमा छ भने दोस्रो स्थानको नेपालको २ खेलमा ६ अंक छ। पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई ३–० गोलले हराएको थियो।

हिँजो भएको अर्को खेलमा आयोजक भारतले श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराएको छ। भारतको यो पहिलो जित हो। भारत २ खेलमा ३ अंकसाथ तेस्रो स्थानमा छ। पुछारमा रहेको माल्दिभ्स र श्रीलंकाले कुनै अंक जोडेका छैनन्।

प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। नेपालले भोलि भारतसँग र मंगलवार बंगलादेशसँग खेल्नेछ। फाइनल खेल आउँदो शुक्रवार हुनेछ।