साफ च्याम्पियनसीप फुटबलमा नेपाल सहज समूहमा

जनसम्मत
श्रावण १४, २०७९, शनिबार

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीप फुटबलमा नेपाल सहज समूहमा परेको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह ‘बी’ मा रहेको हो। यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन्।

यस्तै,, समूह ‘ए’ मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्।

२१ भदौदेखि ३ असोजमा दशरथ रंगशालामा हुने प्रतियोगितामा ७ देशको सहभागिता रहनेछ।

साफ च्याम्पियनसीपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन्।

छैटौं संस्करणको आयोजक नेपाल रहेको समूह बी मा श्रीलंका र भुटान छन्। नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित हासिल गरेको छ।

विराटनगरमा भएको गत संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो। हालसम्म ५ संस्करणमध्य नेपाल ४ पटक फाइनलमा भारतसँग पराजित भएको छ। सन् २०१५ मा भने नेपाल भारतसँग सेमिफाइनलमा रोकिएको थियो।