संगम र प्रगतिशील लेखक संघले सम्झ्यो साहित्यकार खनाललाई

जनसम्मत
श्रावण १४, २०७९, शनिबार

पोखरामा शनिबार साहित्यकार, शिक्षासेवी स्व. कुलप्रसाद खनालको सम्झना गरिएको छ।

संगम र प्रगतिशील लेखक संघ कास्कीले एक कार्यक्रम गरी खनालको सम्झना गरेका हुन्।

गत साउन ४ गते खनालको निधन भएको थियो। पृथ्वीनारायण क्याम्पस पोखरामा नेपाली भाषा विभागको प्रमुख रही नेपाली भाषा र साहित्यमा लामो समयसम्म सेवा गरेका खनाल दम, प्रोस्टेड र उच्च रक्तचापका बिरामी थिए।

साहित्य र शिक्षाको क्षेत्रमा धेरै पुरस्कार पाएका खनाल गण्डकी साहित्य संगम पोखराका संस्थापक अध्यक्षसमेत हुन्। खनाल प्रगतिशील लेखक संघ कास्की पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्यसमेत थिए।

कार्यक्रममा वाम बुद्धिजीवी रामराज रेग्मी, संगमका सल्लाहकार रघुनाथ अधिकारी, संगम अध्यक्ष डा कृष्णराज अधिकारी, सचिव भीम रानाभाट, पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख यादवराज उपाध्याय, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकाल, सहप्राध्यापक डा लक्ष्मीशरण अधिकारी, प्रलेस कास्की अध्यक्ष लोकनाथ पुडासैनी, प्राडा यामबहादुर पौडेल क्षेत्री लगायतले स्व. खनालबारे बोल्दै उनको स्मरण गरे।

खनालले पृथ्वीनारायण क्याम्पसको प्रध्यापनलाई मूल कार्यक्षेत्र बनाएर नेपाली प्रगतिशील सिर्जना र समालोचना समेतमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। विस २००१ मा तनहँुको चुँदी सिमपानीमा जन्मेका उनी लामो समयदेखि पोखरा ५ राधाकृष्ण मार्गमा बस्थे। नेपाली भाषा र साहित्यका क्षेत्रका व्यक्तित्व खनालले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्री गरेका थिए। गोकुल साहित्य पुरस्कारको स्थापनामा उनको योगदान छ।