खोटाङ भूकम्प : २ घर भत्किए, १७ घर चर्किए

जनसम्मत
श्रावण १५, २०७९, आइतबार

खोटाङको साकेला गाउँपालिका ५ मात्तिमबिर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले ३ घर भत्किनुका साथै १७ घर चर्किएको जनाइएको छ।

भूकम्पले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गंगा राई र हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको हो।

भूकम्पले मात्तिमबिर्तामा १७ घर चर्किएको विवरण प्राप्त भएको खोटाङ जिल्ला प्रशासनले बताएको छ। प्रशासनका अनुसार अहिलेसम्म मानवीय क्षति भएकोबारे कुनै जानकारी आएको छैन। भूकम्पलगत्तै साकेला गाउँपालिकाका ५ वटै वडामा क्षतिको विवरण संकलन भइरहेको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए।

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ। भूकम्प गएलगत्तै नगरपालिकाले ’इन्टिग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्ट’ का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह–मन्त्रालयलाई पत्राचार गरेको हो।

भूकम्पबाट क्षतिको तत्काल मूल्यांकन गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगरपालिकाले जनाएको छ।