राखेप आ.व. २०७९/०८० को कार्यक्रम र बजेट पारित

जनसम्मत
श्रावण १५, २०७९, आइतबार

राष्ट्रिय खेलकुद परिषद (राखेप)को आर्थिक वर्ष २०७९/०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको छ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आज (आइतबार) बसेको  ११३ औ राखेपको बोर्ड बैठकले बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको हो।

बैठकले नवौं राष्ट्रिय खेलकुद, खेलाडीको पुरस्कार र भत्ता लगायत विभिन्न निर्णय समेत गरेको छ। बैठकले नवौं राष्ट्रिय खेलकुदमा खेलाडी र अफिसियललाई दैनिक २ हजार रुपैयाँ भत्ता दिने, प्रदेश छनोटका लागि आवश्यक बजेट उपलब्ध गराउने, सम्वन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्वन्धित टिममा सहभागि हुनुपर्ने, प्रदेश तथा विभागीय टिमहरुलेले भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराई सक्नुपर्ने निर्णय गरेको छ।

वैठकले नवौंका लागि प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण पनि गरेको छ। यसैगरी, वैठकले नवौंमा ३६ खेल र २ वटा प्रर्दशनी खेल समावेश गर्ने, ४ सय ७ इभेन्ट्स र ११ वटा टिम सहभागि गराउने निर्णय गरेको छ। एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेता खेलाडीलाई २५ हजार, टिम ईभेन्टमा स्वर्ण विजेतालार्ई १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड कायम गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार उपलब्ध गराउने निर्णय समेत गरेको छ।

प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागीय टोलीको मुख्यालयमा प्रदर्शन गरिनेछ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि तयारी तथा बजेट व्यवस्थापन गर्ने जनाएको छ।

त्यस्तै, २०२३ मा हुने चौधौं साग, २०२३ मा हुने १९औँ एशियाली खेलकुद,२०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शीतकालीन ओलम्पिक र २०२६ को युथ ओलम्पिक गेम्सका तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने।’ बोर्डको निर्णयमा भनिएको छ।

त्यस्तै, मुलपानीमा एनएससी फिट्नेस सेन्टरको स्थापना गर्ने निर्णय गरेको छ।