मेयर धनराजले विन्ध्यवासिनी माविमा के बोले ?

जनसम्मत
श्रावण १६, २०७९, सोमबार

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर र प्राविधिक शिक्षा आवश्यक रहेको औंल्याएका छन्।

राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै पक्षले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने औंल्याए।

उनले दक्ष जनशक्ति विदेशिने क्रम जारी रहेकाले त्यसलाई रोक्न राज्यले शिक्षा क्षेत्रमा सुधार सँगसँगै प्राविधिक ज्ञान, सीप र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

मेयर आचार्यले विन्ध्यवासिनी मा.वि. नेपालकै उत्कृष्ट विद्यालयमा पर्न सफल भएकोमा खुशी व्यक्त गरे। यसले समग्र पोखरा र गण्डकी प्रदेशकै इज्जत बढाएको भन्दै प्रशंसा गरे। विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्या समाधान गर्न आफू लागि पर्ने बताए।

मेयर आचार्यले सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धितर्फ महानगरले ध्यान केन्द्रीत गर्दै थप योजना बनाउने बताए।

पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यालयले भोगेका समस्याप्रति आफू जानकार रहेको बताए। समस्या समाधानका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने उनको भनाई थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले सबै पक्षको सहकार्यबाट विद्यालय उत्कृष्ट बन्न पुगेको उल्लेख गरिन्। विद्यालयमा प्राविधिक शिक्षा स्थापना, स्कुल बस तथा स्वास्थ्यसँग सम्बन्धित कर्मचारीको व्यवस्था गरी दिन स्थानीय सरकारसँग उनको आग्रह थियो।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयले यस शैक्षिक सत्रमा प्राप्त गरेका उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराए।