अविरल वर्षाका कारण कास्कीमा बाटो (सडक)हरु अवरुद्ध

जनसम्मत
श्रावण १७, २०७९, मंगलवार

लगातार अविरल वर्षाका कारण कास्कीको विभिन्न ठाउँहरुमा बाटो (सडक) हरु भासिन गई आवागमन अवरुद्ध बनेको छ।

कास्कीको रुपा गाउँपालिका गैरीपोखरीस्थित बेगनास हुँदै लमजुङ भोर्लेटार जाने पक्की भित्री सडकखण्ड सोमबार बेलुकी ६ बजेतिर भासिन गई आवागमन अवरुद्ध बनेको कास्की प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त सडक खण्डमा अन्दाजी २५ मिटर लम्बाई अन्दाजी १.५ फिट तल सडक भासिन जाँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

पोखरा–२९ लेखनाथको घोतघोतेस्थित पृथ्वीराजमार्गमा वर्षाको कारण सोमबार राती १० बजेदेखि नहरको पानी ओभर फ्लो भई पानी सडकमा जाँदा सवारी साधन फस्ने, दुर्घटना हुने भएको कारण पावरहाउस र ताल चोकबाट डाइभर्सन गरी सवारी आगामन खुलेको कास्की प्रहरीले जनाएको छ।