पोखराको तालवाराही माविमा स्तनपानसम्बन्धी जनचेतना कार्यक्रम

जनसम्मत
श्रावण १७, २०७९, मंगलवार

तालबाराही माविमा स्तनपानसम्वन्धी शिक्षा र समर्थन कार्यक्रम सम्पन्न गरिएको छ।

विश्व स्तनपान दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको जोन्टा क्लव अफ पोखराको आयोजनामा कार्यक्रम भएको हो।

पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले कार्यक्रममा बोल्दै जोन्टा क्लवले समय सान्दर्भिक कार्य गरेको भन्दै अभियानको प्रसंसा गरे। भट्टराईले वडा भवन निर्माणको चरणमा रहेको जानकारी दिंदै अब बन्ने भवनमा सुरक्षित स्तनपानका लागि छुट्टै कक्षको निर्माण गरिने बताए।

कार्यक्रममा स्त्री तथा प्रसुती बरिष्ठ रोग विशेषज्ञ डा.चन्द्रिका पण्डितले महिलाले सुत्केरी हुनुपूर्व र भएपछि गर्नुपर्ने शारिरीक अभ्यासबारे प्रशिक्षण दिइन्। त्यस्तै, आहार तथा पोषण परामर्शदाता डा विद्या रघुनादन कायस्थले सुत्केरी महिला र नवजात शिशुलाई दिनुपर्ने सन्तुलित भोजनबारे प्रकाश पारे। फिजियोथेरापी डा शुभा कोइरालाले गर्भवती र सुत्केरी अवस्थामा महिलाले गर्नुपर्ने व्यायामबारे सहजीकरण गरिन्।

कार्यक्रममा बोल्दै जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले नवजात शिशुलाई आमाको दुध सवैभन्दा ठूलो पोषण भएको उल्लेख गरिन्। उनले क्लवका गतिविधिबारे अवगत गराइन्। व्यवसायिक महिलाहरुको पैरवी र सेवाको माध्यमबाट विश्वभरिका महिलाहरुको सशक्तिकरण गर्ने क्लवको उद्येश्य रहेको प्रष्ट पारिन्।