साफ यु–२० फुटबल : नेपालले बंगलादेशसँग बराबरी खेल्यो

जनसम्मत
श्रावण १७, २०७९, मंगलवार

साफ यु–२० वर्षमुनिको साफ च्याम्पियनसीपमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ।

भुवनेश्वरको कालिंगा रंगशालामा भएको खेलमा नेपालले बंगलादेशसँग १/१ गोलको बराबरी खेलेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीबाट अवसर बनेपनि गोल भने हुन सकेन। दुवै गोल दोस्रो हाफमा संभव भएकमो थियो।

खेलको ६३ औँ मिनेटमा बंगलादेशका मोहमद पियास अमहेद नोभाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर त्यसको पाँच मिनेटमा नै नेपालका लागि निरञ्जन मल्लले गोल गर्दै खेल १/१ गोलको बराबरीमा ल्याए।

यसअघि, दोस्रो हाफको सुरुमै दुवै टोलीबीच हात हालाहालसम्म भएको थियो। खेलाडीबीच झगडा हुँदा रेफ्रीले नेपालका मैदानमा रहेका दिपेश गुरुङ र बेन्चका वैकल्पिक खेलाडी रोहित सुब्बालाई रातो कार्ड देखाए।

यस्तै बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाए। दुबै टोलीबीचको झगडाले खेल केहीबेर तनावग्रस्त बनेको थियो। यो बराबरीसँगै बंगलादेश ४ खेलका १० अंककासाथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको छ। नेपाल ४ खेलमा सात अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको भारत भने ६ अंकसहित तेस्रो स्थानमा छ।

आज (मंगलबार) बेलुकी सवा ७ बजे भारत र माल्दिभ्सबीच हुने खेल नेपालका लागि महत्वपूर्ण हुनेछ। भारतले माल्दिभ्ससँग हारेमा मात्रै नेपाल फाइनलमा पुग्नेछ। माल्दिभ्ससँग भारतको बराबरी वा जितले भने नेपालको यात्रा समूह चरणमा नै सकिनेछ।