राष्ट्रको हितलाई सर्वोपरि राखेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

जनसम्मत
श्रावण १७, २०७९, मंगलवार

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरि हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीलाई निर्देशन दिएका छन्।

मंगलबार अपरान्ह प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

त्यस अवसरमा उनले अब मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चरणमा प्रवेश गर्ने उल्लेख गर्दै त्यसलाई समेत ध्यानमा राखेर काम गर्न सबै मन्त्रीहरुलाई सचेतसमेत गराए।

नेपाली जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन हुनेगरी राष्ट्रको हितलाई सर्वोपरि राखेर काम गर्न बैठकमा निर्देशन दिएको नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक अवस्थाको बारेमा प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरे। अन्य मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको काम कारबाहीबारे जानकारी गराए।