कक्षा ११ मा भर्नाको आधारबारे परीक्षा बोर्डले मापदण्ड बनायो

जनसम्मत
श्रावण १८, २०७९, बुधबार

कक्षा ११ मा भर्ना हुनका लागि राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड सार्वजनिक गरेको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समग्रमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँछन्।

विज्ञान समूहअन्तर्गत भौतिक विज्ञान, रसायनशास्त्र, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औषत ग्रेड १.६ प्राप्त गरी कक्षा १० मा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ प्लस ग्रेड प्राप्त हुनुपर्नेछ।

कक्षा ११ मा विज्ञान र गणित विषयबाहेक अध्ययन गर्न चाहनेले ‘सी’ प्लस प्राप्त नभए पनि भर्ना पाउने बोर्डले जनाएको छ।

‘सी’ वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीले ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ। परीक्षा नियन्त्रण कार्यालयले बढीमा २ विषयसम्म ग्रेड वृद्धिको परीक्षा दिन पाउने व्यवस्था गरेको छ। ग्रेड वृद्धिको परीक्षा आगामी भदौ ११ र १२ गते संचालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ।

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो र सोअनुसार न्यूनतम ३५ प्रतिशत प्राप्त नगर्नेलाई ननग्रेडेड उल्लेख गर्ने व्यवस्था गरिएको थियो। तर, कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन प्रभावित भएको भन्दै २०७२ सालमा जारी गरिएको निर्देशिकाले गरेको व्यवस्थालाई नै निरन्तरता दिने निर्णय गरेको थियो।