निर्वाचनका लागि दल दर्ता आह्वान

जनसम्मत
श्रावण २०, २०७९, शुक्रबार

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार साउन २२ गते देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ।

‘दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने छ।

यसरी दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सरकारले मंसिर ४ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ।