सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद लम्बियो

जनसम्मत
श्रावण २०, २०७९, शुक्रबार

सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद लम्बिएको छ।

यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर भदौको ५ गतेसम्म पुर्‍याएको हो।

कम्पनीले साउन ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी पुँजीको १० प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको हो। यसले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि सेयर खुला गरेको हो।

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गरेको छ। रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले यसमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।