राष्ट्रिय खेलकुदमा प्रदेशको भूमिका नभएकोमा लोकतान्त्रिक खेलकुद संघको आपत्ति

जनसम्मत
श्रावण २०, २०७९, शुक्रबार

पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका खेल विज्ञहरुलाई नसमेटेकोप्रति नेपाली काँग्रेस भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले आपत्ति जनाएको छ।

दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगिताको तयारी र त्यससँग सम्बन्धित समिति र उपसमितिहरुमा पूर्व खेलकर्मी र खेलसँग सम्बन्धित संघसंस्थालाई कुनै भूमिका नदिएको भन्दै संघले आपत्ति जनाएको हो।

संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै गण्डकी प्रदेशमा आयोजना हुने खेलकुदको वृहत कार्यक्रममा राज्यले सम्बन्धित प्रदेशकै खेल विज्ञहरुलाई नसमेटेको संघका अध्यक्ष देवेन्द्र शेरचनको आरोप छ। नवौंको आयोजनाका लागि निर्माण गरिएको खेल स्थलसम्बन्धी उपसमितिमा मात्र गण्डकी प्रदेशको सरोकारवालाको प्रतिनिधित्व रहेको छ।

पोखरामा हुने प्रतियोगितामा प्रदेशकै पूर्व खेलाडीहरुको अनुभवका आधारमा काम गर्नुपर्नेमा जोड दिंदै प्रदेशभरका पूर्व खेलाडी तथा खेल संघसंस्थालाई कुनै न कुनै भूमिका दिनुपर्ने शेरचनको भनाई थियो।