पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेलको उम्मेदवारी घोषणा

जनसम्मत
श्रावण २२, २०७९, आइतबार

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पोखरेलले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी सार्वजनिक गरे। उनले आफ्ना प्रतिबद्धतासहित उम्मेदवारी सार्वजनिक गरेका हुन्।

संघमा सबै पोखरेलीको साझा घरका रुपमा विकास गर्ने गरी आफूले काम गर्ने उनको प्रतिबद्धता छ।

संपूर्ण उद्योगी, व्यवसायीलाई समेटेर आफूले संघको नेतृत्व गर्ने पोखरेलको प्रतिबद्धता छ। निजी क्षेत्रको समस्यालाई नजिकबाट बुझेको बताउँदै पोखरेलले संपूर्णबाट साथ र सहयोग पाउनेमा आफू विश्वस्त रहेको बताए।

अग्रज, समकालीन र अनुज सबैसँग सल्लाह गरेर अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको पोखरेलले बताए। संघले आर्थिक भार व्यहोर्नु परेको स्मरण गर्दै उनले अहिले भइरहेको भवनलाई बहुउद्देश्यीय बनाएर व्यावसायिक प्रयोगमा लगाउने र संघको आर्थिक अवस्था मजबुत बनाउने पोखरेलले बताए। संघ अन्तर्गत स्थानीय व्यापार इक्युबेसन सेन्टर स्थापना गरिने उनको भनाई छ।

लामो समय संघमा रहेर सक्रिय भएको र उपाध्यक्षसमेत भएर काम गरेकाले अध्यक्षमा उम्मेदवारी दिनु स्वभाविक भएको उनले बताएका छन्।

संघको ३४ औं महाधिवेसन यही भदौ २४ र २५ गते हुँदैछ । पोखरेल बर्तमान कार्यसमितिमा वाणिज्यतर्फको उपाध्यक्ष हन्। कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव हुँदै उनी वाणिज्य उपाध्यक्ष भएका हुन्।