निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

जनसम्मत
श्रावण २२, २०७९, आइतबार

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आज (आइतबार) देखि राजनीतिक दल दर्ता सुरु हुँदैछ।

निर्वाचन आयोगले मंसीर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने सुरु गरेको हो। आयोगले आजदेखि ३१ गतेभित्र दल दर्ता गर्ने जनाएको छ।

दलहरुले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता गर्नेछन्।

दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्नेछ।

दलले निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा ७ वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सो भन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने व्यवस्था गरिएको पनि आयोगले विज्ञप्तिमार्फत जनाएको छ।