खेलकुद पत्रकार मञ्च गण्डकीले खुलायो नयाँ सदस्यताको आवेदन

जनसम्मत
श्रावण २२, २०७९, आइतबार

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरेको छ।

मञ्चको हालै बसेको बैठकले गरेको निर्णयअनुसार साउन २१ गतेबाट नयाँ सदस्यता आवेदन खुल्ला गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्।

मञ्चमा आबद्ध हुन चाहने गण्डकी प्रदेशभरीका खेल पत्रकारलाई समेट्ने उद्देश्यले सदस्यता आवेदन खुल्ला गरिएको पौडेलको भनाई छ। आवेदन फारम भाद्र ४ गतेसम्म भरिसक्नुपर्नेछ।

नयाँ सदस्य बन्न आवेदन दिनको लागि केही प्रावधान तय गरिएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए। कम्तिमा प्लस टु वा सो सरह उत्तीर्ण, अन्य विटगत पत्रकारिताका संस्थामा पदाधिकारीमा नरहेको, कुनै फौजदारी अभियोग नलागेका सक्रिय पत्रकारले सदस्यताको लागि आवेदन दिन सक्नेछन्।

आवेदनको साथमा नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि, परिचयपत्रको प्रतिलिपि, न्युनतम २ वर्षको अनुभव खुल्ने सिफारिस पत्र, नागरिकताको प्रतिलिपि, हरेक वर्षको कम्तिमा ५ वटा प्रकाशित तथा प्रसारित समाचार सामाग्री, पासपोर्ट साइजको २ वटा फोटो समावेश गर्नुपर्ने अध्यक्ष बरालले जनाए।

फारम लिन वा बुझाउनका निम्ति पोखरा रंगशालामा रहेको मिडिया सेन्टर वा मञ्चको पदाधिकारी तथा कार्यसमिति सदस्यलाई सम्पर्क गर्न सक्ने मञ्चले जनाएको छ। आवेदन शुल्क १ हजार रुपैयाँ लाग्नेछ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था हो। खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित बनी २०५७ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की गठन भएको थियो। पछि २०७५ सालमा गण्डकी प्रदेशका खेलपत्रकारलाई समेट्ने उद्देश्यले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी दर्ता भएको हो। हाल मञ्चमा गण्डकी प्रदेशका ५५ जना पत्रकार आवद्ध छन्। मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड समेत गर्दै आएको छ।