काँग्रेस महामन्त्री खड्काले पोखरामा भने, ‘कुँडिएका काँग्रेसी मनहरुलाई जागरण अभियानमार्फत माझिनेछ’

काँग्रेसको राष्ट्रिय जागरण अभियान शुरु

जनसम्मत
वैशाख २५, २०७६, बुधबार

पोखरा । काँग्रेस महामन्त्री खड्काले काँग्रेसहरुलाई कुँडिएका काँग्रेसी मनहरुलाई जागरण अभियानमार्फत माझ्नका लागि राष्ट्रिय अभियान शुरु गरिएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबारबाट मुलुकभर एकसाथ शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेशको नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ कार्यक्रमअन्तरगत पोखरामा बोल्दै महामन्त्री खड्काले भने, ‘कुँडिएका काँग्रेसी मनहरुलाई अभियानमार्फत माझिनेछ ।’

खड्काले कुँडिएको काँग्रेसी मनहरुलाई एकता गराउने उद्देश्यले जागरणको अभियान थालिएको बताए । उनले काँग्रेसलाई रुपान्तरण गर्न काँग्रेस जागरणको अभियान शुभारम्भ गरेको बताए । जनताले खोजेको जस्तै काँग्रेस बनाउन जागरण अभियान थालिएको खड्काको भनाई थियो ।

‘अभियानमा संवाद, छलफल र समीक्षाद्धारा काँग्रेसी मनहरुलाई माझिनेछ,’ उनले भने, ‘कुँडिएका काँग्रेसी मनहरुलाई सम्झाउँदै, बुझाउँदै सिंगो काँग्रेस पार्टीलाई रुपान्तरण गरिनेछ । जनताले खोजेको जस्तै सच्चा काँग्रेस बनाइनेछ ।’

कम्युनिष्ट सरकार गठन बनेदेखि देशमा विसंगति बढेको खड्काले उल्लेख गरे । काँग्रेसका राम्रा कामहरुलाई जनताबीच लिएर जान उनको आग्रह थियो ।

‘कम्युनिष्टहरुले कुहिएको पीठो बेच्न सफल भए, काँग्रेसहरुले टल्किएको चामल पनि विक्रि गर्न सकेनन्,’ उनले भने, ‘यसमा काँग्रेसको केन्द्रीय टिम नै असफल रहे । ठूला ठूला परिवर्तनका संवाहक काँग्रेस अल्छि बन्यो । काँग्रेस पार्टीले गरेका राम्रा कामहरुलाई जनताबीच लिएर जान सक्नुप¥यो ।’

महामन्त्री खड्काले काँग्रेसलाई रुपान्तरण गर्न पार्टीका नेताहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिए । काँग्रेसको बोली र व्यवहारमा परिवर्तन आउनु पर्ने उनको धारणा थियो ।

काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले आफूहरु सच्चिनका लागि जागरण अभियानको थालनी गरेको उल्लेख गरे । उनले कास्की काँग्रेसले नयाँ काँचुली फेर्ने दावी गरे । जोशीले काँग्रेसभित्रको गुट, उपगुट समुहहरुलाई गिरोहको संज्ञा दिए । आफ्नो स्वार्थ पूरा गर्न र अरुलाई परास्त गर्न बनेको गुट र गिरोहरुको अन्त्य गरेरै छाड्ने जोशीको जिकिर थियो ।

‘हिँजो गल्ती भएकै हो, गल्ती पहिचान गरेर अघि बढे हामी सच्चिन सक्छौं, अभियानको उद्देश्य पनि यही हो,’ जोशीले भने, ‘पार्टीमा फरक विचारहरु हुन्छन्, फरक विचार भएपछि विगतमा फरक समुहहरु जन्मिए । समुहसँगै गुटहरु जन्मिए । गुटसँगै गिरोहहरु पनि जन्मिए । अबको एक महिनाभित्र यस्ता गुट र गिरोह समुहहरु अन्त्य हुनेछन् ।’

कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारीले जागरण अभियानमा भातृ संगठनहरुलाई कृयाशील बनाउनुपर्नेमा जोड दिइन् । उनले संसदमा काँग्रेसले सशक्त प्रमुख प्रतिपक्षीको भुमिका निभाउन आग्रह गरिन् ।

७७ वटै जिल्ला, क्षेत्र, गाउँ र नगर, वडा र टोलसम्म विस्तार हुने राष्ट्रिय जागरण अभियान २०७६ सालभर तीन चरणसम्म संचालन गरिनेछन् । तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते शुरु गरेर आगामी जेठ २५ गते समापन हुने काँग्रेसले जनाएको छ । त्यस्तै, दोस्रो चरण भदौ २४ गते शुरु भई असोज ७ गते समापेन हुनेछ । तेस्रो चरणको अभियान पुस ७ गतेबाट प्रारम्भ भई पुस १६ गतेसम्म संचालन हुनेछ ।

प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण सातवटै प्रदेशहरुको तीन सय ३० वटा प्रादेशिक निर्वाचन क्षेत्रहरुमा र तेस्रो चरण सात सय ५३ वटै स्थानीय तहमा हुने कार्यक्रम छ।

अभियानको बुधबार दिउँसो काठमाडौंमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गरे ।

अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धी एवं समृद्धिको संप्रेषण गर्नेलगायतका कार्यक्रमहरु छन् ।