बैकिङ कसूर मुद्दा लागेकी दिक्षा निगालो घारीबाट पक्राउ

जनसम्मत
श्रावण २२, २०७९, आइतबार

बैकिङ कसूर मुद्दामा बागलुङ ताराखोलाकी दिक्षा पुनलाई कास्कीबाट पक्राउ गरिएको छ।

जिल्ला बागलुङ ताराखोला गाउँपालिका वडा नं. १ स्थायी घर भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ मिरुवा बस्ने वर्ष २७ की दिक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो।

दिक्षाको खोजी तलासीमा रहेका प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बीरेठाँटीस्थित निगालो घारीमा लुकेर बसेको अवस्थामा शनिबार पक्राउ परेकी हुन्।

दिक्षाले आफ्नो पोखरा फाइनान्स लिमिटेडमा रहेको खातामा पर्याप्त रकम मौजात नभएको अवस्थामा जाहेरवाला कुलबहादुर बिकलाई गत वैशाख २६ गते सटही गर्ने गरी ३ लाख रुपैयाँको चेक दिएकीमा खातामा रकम नभएको कारण सो चेक सम्बन्धित बैकबाट बाउन्स भएको थियो।

हाल, दिक्षालाई सम्मानित उच्च अदालत पोखराबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दिक्षा पुनले विभिन्न व्यक्तिहरूलाई यु.के. पठाईदिन्छु भनि रकम लिई ठगी गरेको भन्ने सामाजिक सञ्जालमा समाचार संप्रेषण समेत भएकोले सोतर्फ पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा पीडित व्यक्तिहरूलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्न समेत प्रहरीले आग्रह गरेको छ।