पदाधिकारी र सदस्यको सम्पत्ति विवरण बुझाउ : निर्वाचन आयोग

जनसम्मत
श्रावण २२, २०७९, आइतबार

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

आयोगले १५ दिनभित्र आयोगमा सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो।

आयोग पदाधिकारीको बैठकले सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो। आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलका केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्पत्ति विवरण बुझाउनु पर्नेछ।

आयोगमा हाल १ सय १६ वटा राजनीतिक दल कायम छन्। महाधिवेशन भएका र नभएका कुनै पनि दलका पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण आयोगमा आएको छैन।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ ले केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालय समक्ष बुझाउनुपर्ने व्यवस्था गरेको छ।

सम्बन्धित राजनीतिक दलले पेस गरेको १ महिनाभित्र ती पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने ऐनमा उल्लेख छ। आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि दल दर्ता गर्न आह्वान गरिसकेको छ।