निर्धारित समयमै राष्ट्रिय खेलकुद हुन्छ : सदस्यसचिव घिसिङ

जनसम्मत
श्रावण २३, २०७९, सोमबार

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले निर्धारित समयमै नवौं राष्ट्रिय खेलकुद हुने दाबी गरेका छन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्वाचनले प्रभाव नपार्ने सदस्य सचिव घिसिङको दाबी छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएकोले निर्वाचनले यसलाई प्रभाव नपार्ने प्रष्ट पारे। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसीर ४ गते हुने तय भएको छ।

‘मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको हो, सोही कारण निर्धारित मितिमानै प्रतियोगिता हुन्छ, निर्वाचनले यसलाई प्रभाव पार्दैन’ सदस्य सचिव घिसिङले भने। प्रतियोगितालाई प्रभावित नर्पानको लागि निर्वाचन आयोगसँग समेत परामर्श गरिएको उनले खुलाए।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना हुँदैछ। प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ इभेन्टमा पदकको लागि प्रतिस्पर्धा गर्नेछन्। ७ प्रदेश, ३ विभागिय टोली र एनआरएनएको १ टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन्।
राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिताको तयारीमा समेत तीव्रता दिएको घिसिङको भनाई छ।

‘प्रतियोगिताको लागि निर्धारित तालिकाअनुसार समयमानै काम भइरहेको, घर्केको छैन’ उनले भने।

पोखरा रंगशालाभित्रको फुटबल मैदानको भीआईपी प्यारापीट अबको १० दिनभित्रमा तयार हुने उनको दाबी छ। केही दिनदेखि पोखरामा रहेका सदस्य सचिव घिसिङले पोखरा आसपासका खेलकुद पुर्वाधारको अवलोकन तथा गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा महानगरपालिकाका मेयरलगायतका व्यक्तिसँग प्रतियोगिताको सन्दर्भमा छलफल गरेको समेत बताए।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा धन्यवाद ज्ञापन उपाध्यक्ष सुरज श्रेष्ठ र कार्यक्रम संचालन महासचिव राजाराम पौडेलले गरेका थिए।