भूतपूर्व खेलाडी मञ्चमा आसन्न राष्ट्रिय खेलकुद प्रतियोगिताकै चर्चा

जनसम्मत
श्रावण २३, २०७९, सोमबार

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चमा पुगेका छन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि पोखरा आइपुगेका घिसिङको सम्मानमा आयोजना गरेको कार्यक्रममा सोमबार उनी मञ्चमा पुगेकाम हुन्।

मञ्चका पदाधिकारी तथा सदस्यहरुसँगको भेटघाटमा सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बारे छलफल गरे। उनले राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सहकार्य आवश्यक रहेको बताए।

उनले भने, ‘म जुन कार्यक्रममा उपस्थित हुन्छु त्यहाँ सहयोग गर्छौं भन्ने कुरा सुन्छु मलाई सहयोगको खाँचो होइन, सहकार्य गर्छौं भन्ने प्रतिवद्धताको खाँचो छ।’

खेलकुद विकासमा पोखरा आफ्नो दोश्रो घर हुने बताउँदै सदस्य सचिव घिसिङले पोखराको सामिप्यता र सहकार्य अत्यन्तै बलियो हुने भनाई राखे।

उनले खेलकुद विकासका लागि आफूले इमान्दार प्रयत्न गर्ने उल्लेख गर्दै भने, ‘नेपाली खेलकुद विकासमा अग्रज खेलाडीहरुको योगदान महत्वपूर्ण छ। हामीले नयाँ युगको खेलकुदलाई उचाईमा पु¥याउन अनुभूती हुनेगरी काम गरौं, सहयोग होइन सहकार्य गरौं।’

पर्खाल निर्माण गरेर पोखरा रंगशालाको संरक्षण गर्ने अभियानमा मञ्चले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिएको उनले स्मरण गरे। उनले सहयोगीहरुलाई सम्मानका लागि निशुल्क कार्डको व्यवस्थापन गर्न सहयोग गर्ने बताए।

उनले खेलकुद विकासका लागि गरिएको योगदानको देशभर सन्देश पु¥याउने समेत बताए। अग्रज खेलाडीहरुको माझमा आफूलाई पाउँदा निकै खुसी लागेको उनको भनाई थियो। सदस्य सचिव घिसिङले पोखरेलीहरुलाई नवौं राष्ट्रिय खेलकुदमा आफ्नो अपनत्वसँगै स्वामित्व प्राप्त हुनेगरी वातावरण बनाउने प्रतिवद्धता जनाए। उनले नवौ खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेटको समेत व्यवस्था भईसकेको उल्लेख गरे। उनले पोखरा लगायत अन्य ठाउँमा हुने म्याराथनका रुटहरुको प्रमाणीकरण गर्न राखेपले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

कोभिड १९ पछि समेत खेलकुद अझै गतिशील हुन नसकेको धारणा अघि सार्दै सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदले नेपाली खेलकुद विकासका लागि ‘आइस व्रेक’ गर्ने बताए। उनले नवौं सकिएलगतै नेपाली खेलाडीहरुलाई एक वर्षभरी नै अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणसँगै शृंखलावद्ध अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुको आयोजना गर्ने तयारी परिषदले सुरुवात गर्ने उल्लेख गरे।

राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएसँगै राखेप १४ औं साग, १९ औं एसियाली खेलकुद र पेरिस ओलम्पिकको तयारीमा जुट्ने उनको भनाई छ।
‘हामी अहिलेको तयारीबाट एसियाली र ओलम्पिकबाट धेरै आशावादी त छैनौ, तर कम्तिमा पनि एक स्वर्ण पदक जित्नुपर्छ भन्ने सोंचका साथ खेलाडीलाई निरन्तर प्रशिक्षणमा जुटेका छौं।’

नेपाली खेलाडी ओलम्पिकमा सहभागिताका लागि मात्रै नभएर छनोट चरण पार गर्दै त्यहाँसम्म पुग्ने र पदक समेत जित्ने गरी तयारी गरिरहेको उनले बताए। नेपाली खेलकुद विकासका लागि राष्ट्रिय खेलकुद नीति आवश्यक रहेको कुरामा उनले जोड दिए। सदस्य सचिव घिसिङले भने, ‘हरेक पटक फेरिने सरकार र सदस्य सचिवले आफू बमोजिम ‘कस्मेटिक’ खेलकुद नीति अवलम्वन गर्दा खेलकुद विकासबाट पटक–पटक चुकेको छ। यो परम्परालाई तोडिन आवश्यक छ। हामी हतार नगरी व्यापक छलफल चलाएर सबै नेपालीको साझा खेलकुद नीति निर्माण गर्ने तयारी गर्नेछौं।’

सदस्य सचिव घिसिङले जुनियर, यूथ र विश्वविद्यालयस्तरमा खेलकुदको विकासका लागि राखेपले तयारी थाल्ने समेत बताए।

‘अहिले केही विद्यालय र विश्वविद्यालयस्तरमा प्रतियोगिताहरु संचालन भएपनि ती आयोजनाका लागि मात्रै भएका छन्। अब, त्यसो हुने छैन। खेलाडी उत्पादनको मुख्य थलो बन्नेगरी विद्यालय र विश्वविद्यालयहरुमा प्रतियोगिताहरु आयोजना हुनेछन्,’ उनले भने, ‘अब, नेपाली खेलकुदले यूथ स्पोर्ट्स खेलको विकासका लागि अघि बढ्ने छ।’

उनले नेपाली खेलकुद विकासका लागि निजी क्षेत्रको साझेदारीमा समेत जोड दिए।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग रानाभाट, द्वितिय उपाध्यक्ष दिलबहादुर गुरुङ, सल्लाहकार जगनबहादुर गुरुङलगायतले नेपाली खेलकुद विकासमा अग्रज खेलाडीहरुको भूमिका र पोखरा म्याराथनबारे सदस्य सचिव घिसिङलाई जानकारी गराएका थिए।

 

(हेर्नुहोस, फोटो फिचर)

 

तेजबहादुर गुरुङ, (सदस्य सचिव, गण्डकी प्रदेश खेलकुद परिषद)

 

खड्क रानाभाट, (संस्थापक अध्यक्ष, नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखरा)

 

 

हरि पराजुली, (अध्यक्ष, नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखरा)

टंकलाल घिसिङ, (राखेप, सदस्य सचिव)