आमसञ्चार विधेयक पत्रकारमैत्री हुन्छ : मुख्यमन्त्री पोखरेल

जनसम्मत
श्रावण २३, २०७९, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन्।

नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नरहेको बताए।

मुख्यमन्त्री पोखरेलले संचारमाध्यममा आउने समाचारप्रति सरकारले सुझावका रुपमा लिएको तर सामाजिक सञ्जालमा गरिने केही टिकाटिप्पणी मर्यादाविपरीत रहने गरेको उल्लेख गरे।

उनले गण्डकी प्रदेशमा यातायात, मालपोत लगायतका कर वृद्धिसम्बन्धमा भएको टिकाटिप्पणीबारे सुझावको रुपमा लिई सच्चाएर सरकार अघि बढेको बताए। उनले करका बारेमा आएका टिकाटिप्पणीलाई मन्त्रालगयत छलफल गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारको पक्षमा युनियनले काम गर्ने बताए। सरकारले तोकेको न्यूनतम तलबले पत्रकारलाई नपुग्ने भन्दै उनले यसको पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरे। ठूला संचारमाध्यममा काम गर्ने पत्रकार र साना संचारमाध्यममा काम गर्ने पत्रकारलाई सरकारले एउटै नीतिले हेर्नुपर्नेमा लम्सालले जोड दिए। उनले संगठनले कसैलाई काखा, कसैलाई पाखा नगर्ने प्रतिबद्धता समेत जनाए।

नेपाली काग्रेसका गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले लोकतन्त्रको पक्षमा लडेका संचारमाध्यम र पत्रकारलाई रक्षा गर्ने दायित्व सरकारको रहेको प्रष्ट पारे।

युनियनका उपाध्यक्ष नकुल अर्याल, ऋषिकान्त पौडेल र महासचिव दिलिप पौडेलले पत्रकारलाई व्यवसायी बन्न आग्रह समेत गरे।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सह–सचिव नवीन सिग्देलले पार्टी र युनियनका पत्रकारबीचको दूरी टाढा रहेको र यसलाई नजिक पार्नुपर्नेमा जोड दिए।