पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा संचालन

विश्वशान्तिको कामनासहित पारिवारिक सुख शान्ति, पितृउद्धारलगायतका लक्ष्यसहित हप्ताको सोमबार साँझ एक घण्टा आरती सेवा

एजेन्सी
वैशाख २५, २०७६, बुधबार

पोखरा । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा संचालन गरिएको छ ।

विश्वशान्तिको कामनासहित पारिवारिक सुख शान्ति, पितृउद्धारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिएको आरती सेवा प्रत्येक हप्ताको सोमवार साँझ एक घण्टा संचालन गरिने भएको हो ।

तीन जना गुरुद्धारा शुद्ध गाईको ध्यू, कपुर, ज्योतीलगायतका पूजा सामाग्रीको माध्यमबाट गरिने आरती बिशेषगरी शिव, बिष्णु भगवान तथा दुर्गादेवी मन्त्र वाचनद्धारा समर्पण गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

अक्षतृतीयको अवसर पारेर शुरु गरिएको आरतीको पोखरा १७ का वडाअध्यक्ष तीर्थ अधिकारीले शुभारम्भ गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा आरतीले थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

२०५१ सालदेखि संचालनमा आएको गुप्तेश्वर गुफामा बार्षिक पाँच लाखको हाराहारीमा आन्तरिक र बाह्रय पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार टिकट बिक्रीबाट बार्षिक तीन करोड भन्दा बढी आम्दानी गर्दै आएको गुफाले आरती संचालनसंगै धार्मिक पर्यटकको संख्यामा वृद्धि हुने विश्वास लिइएको छ ।

नेपालको पशुपतिनाथ, भारतको काशीमा लामो समयदेखि निरन्तर आरती सेवा संचालन भएपनि पछिल्लो समय भने जनकपुरधाम, देवघाट, पोखराको ताल बाराहीघाट, सदा शिव हरिहर मन्दिर हुँदै गुप्तेश्वर गुफामा शुरु गरिएको छ । आरती सेवा मुलुक भर विस्तार हुने क्रम जारी छ ।