‘आर्थिक समृद्धि उन्मुख बजेट निर्माण गर्न र सार्वजनिक खरिद ऐनमा आँटिलो निर्णय आवश्यक छ’ डा. बाबुराम भट्टराईको सुझाव

आर्थिक वर्ष ०७६/०७७ को बजेटबारे प्रतिनिधि सभा अर्थ समितिको बैठक

जनसम्मत
वैशाख २५, २०७६, बुधबार

पोखरा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक समृद्धि उन्मुख बजेट निर्माण गर्न सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको अर्थ समितिका सदस्यसमेत रहेका डा. भट्टराईले सार्वजनिक खरिद ऐनमा आँटिलो निर्णय गर्न आवश्यक रहेको सुझाव दिए ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधि सभा अर्थ समितिको बैठकमा डा. भट्टराईको सुझाव थियो, ‘राजनीतिक रुपमा भन्दा आर्थिक समृद्धि उन्मुख बजेट निर्माण गर्न र सार्वजनिक खरिद ऐनमा आँटिलो निर्णय आवश्यक छ ।’

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सार्वजनिक खरिद ऐनले समयको भन्दा न्युनतम लागत मात्र हेर्ने विषयले आयोजनाहरु प्रभावकारी बन्न नसकेको धारणा राखे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले बजेट निर्माणलाई प्रभावकारी बनाउन धेरै विषयमा स्पष्टता आवश्यक रहेको स्वीकार गरे । उनले सार्वजनिक खरिद ऐन, परियोजना बैंक, योजना निर्माण मास्टर प्लान स्पष्ट र प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिए ।

समिति सदस्यहरुको प्रश्नको जवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार भूगोल, जनसंख्या र आवश्यकताको आधारमा न्यायोचित ढंगबाट बजेट निर्माण गर्ने तयारीमा रहेको जानकारी गराए ।

अर्थमन्त्री डा. खतिवडाले बजेट निर्माणमा समितिको सुझाव सहयोगी भएको बताए । उनले सार्वजनिक खरिद ऐन संशोधनको क्रममा रहेको, आयोजना र कार्यक्रमहरु ३ वटै सरकारको क्षेत्र निर्धारणका आधारमा बजेट तयारी भइरहेको जानकारी गराए ।

प्रतिनिधि सभाको अर्थ समितिले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा अर्थ समितिको प्रारम्भिक प्रतिवेदनको सिद्धान्त र प्राथमिकताका आधारमा बजेट निर्माण गर्न निर्देशन दिएको थियो ।

अर्थ समितिले बैठकमा सहभागी डा. बजेट निर्माणमा ७ वटै प्रदेशसहित १० वटा प्रमुख सहरमा गरेको बजेट पूर्वको छलफलपछि ३ वटा उपसमितिले संयुक्त रुपमा तयार गरेको प्रतिवेदनको सुझावहरु ग्रहण गर्न निर्देशन दिएको हो ।