१७ कात्तिकमा ‘सीएनआई रोजगार तथा सीप मेला’

जनसम्मत
श्रावण २६, २०७९, बिहीवार

नेपाल उद्योग परिसंघले १७ देखि २० कात्तिकमा सीएनआई रोजगार तथा सीप मेला गर्दैछ ।

परिसंघले आगामी कात्तिकको दोस्रो साता काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला–२०२२ हुने जानकारी दिएको हो। चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी सहभागी हुने परिसंघले बताएको छ।

परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले मेलामा सीप विकाससम्बन्धी विभिन्न विषयमा वृहत छलफल हुनुका साथै सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुतीसमेत हुने बताए। उनले मेलामा आफ्नो क्षमताअनुसारको कामका लागि कम्पनीहरुसँग सम्र्पक तथा छलफल गर्न सकिने बताए।

अधिकारीले मेलामा कर्पोरेट हाउस, नवप्रवर्तन शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमूलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरु समेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले अवलोकन गर्ने अपेक्षा रहेको बताए।

परिसंघले मेलाबाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने विश्वास व्यक्त गरेको छ। सरकार तथा अन्य सरोकारवालालाई रोजगारदाता र रोजगारीको खोजीमा रहेकाको आवश्यकता कम हुने र नेपालमा विश्वस्तरीय जनशत्ति, सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताको पहिचान हुने विश्वास लिएको जनाएको छ। नेपालमा हरेक वर्ष ५ लाख व्यक्ति रोजगारीको खोजीमा हुने गरेको परिसंघले जनाएको छ।